| किताब, लेख, शोधपत्र जस्ता साहित्यिक रचना, गीत सङ्गीतजन्य साङ्गीतिक रचना, चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी कलाजन्य रचना, फोटोजन्य रचना, कम्प्युटर प्रोग्राम, चलचित्र एवं मल्टिमिडियासम्बन्धी रचना तथा नाटक, नाट्य सङ्गीत, मुकचित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना, आर्किटेक्चरल डिजाइन, प्रयोगात्मक कलासम्बन्धी रचना, मानचित्र, योजना, भूगोलसम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना उपर सम्बन्धित रचनाकारलाई प्रतिलिपि अधिकार अर्थात आर्थिक एवं नैतिक अधिकार प्राप्त हुन्छ । प्रतिलिपि अधिकारजन्य कुनै पनि रचना/सिर्जनाको सार्वजनिक तथा व्यापारिक तवरले प्रयोग गर्दा सम्बन्धित अधिकार धनीको स्वीकृति नलिइकन गरिए त्यो कानूनतः दण्डनीय हुन्छ । यस्तो सजाय जरीवाना, क्षतिपूर्ति र कैदको रूपमा हुनसक्छ । तसर्थ स्रष्टाले ठूलो मिहेनतसाथ सिर्जना गरेको नयाँ, मौलिक र बौद्धिक रचनाको सही रूपमा प्रयोग गरी सम्बन्धित रचनाकारको सम्मान गरौं । त्यस्ता रचनाको पाइरेसी अर्थात गैरकानुनी उत्पादन, बिक्री वितरण र प्रयोगलाई सबैले निरूत्साहित गरौं । प्रसारण संस्थाहरूले साङ्गीतिक रचनाको प्रसारण गर्दा नैतिक अधिकारको ख्याल राखी संलग्न सबैको नाम भन्ने तथा प्रसारित रचनालाई निश्चित मापदण्डद्वारा तोकिए बमोजिमको रोयल्टी प्रदान गर्ने बानी बसालौं । हरेक विधाका सक्कली रचनाहरूको मात्र प्रयोग गर्ने र नक्कली उत्पादन एवं बिक्री वितरण भएको थाहा पाएमा सम्बन्धित सरकारी कार्यालय तथा नेपाल प्रहरीमा उजुरी गरी राष्ट्र निर्माणको अभियानमा संलग्न बनौं ।
| | |